आरक्षणले सम्भव भयो दलित दाजुबहिनीको डक्टर बन्ने सपना

२४ साउन, काठमाडौं ।

प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन् ।

आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका पासवान पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

अभय र कृतिका महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सहस्राम माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् । अभयले २०७२ मा एसइई उत्तीर्ण गरेका हुन् भने कृतिकाले २०७४ मा । अभय र कृतिका दुवैजनाले काठमाडौंको गोल्डेन गेट कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् ।

अभयले २०७५ सालमा कक्षा १२ उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएको बुवा जितेन्द्रले बताए । कृतिका २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेडमा प्लस टु उत्तीर्ण गरेको उनले बताए ।

जीतेन्द्र पासवान र ममतादेवीका तीन छोराछोरीमध्ये अभय जेठो सन्तान हुन् भने कृतिका माइली । कान्छी छोरी नीतिका काठमाडौंकै निजी विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।

प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि अभय नेम्समा एक वर्ष पढेका थिए । उनको नाम यसअघि पनि दलित कोटामा निस्केको थियो। बुवा जितेन्द्रले भने, ‘त्यो बेला बिन(मलाह) समुदायलाई पनि दलित कोटामा सूचीकृत गरिएकोले अभय पढ्न पाएनन् । पछि त्यो जातिलाई दलित कोटाबाट हटाइयो,’ उनले भने, ‘पहिला नै यो जातिलाई मधेसी दलित कोटामा सूचीकृत नगरिएको भए अभय एमबिबिएस पढिरहेका हुन्थे । हामीले कानुनी लडाइँ लड्न चाहेनौं । आखिर उनीहरू पनि त कसैको सन्तान नै थिए । किन कसैको भविष्य बिगार्नु भनेर पछि हटेँ । एक वर्ष पर्खेर पनि छोराले आरक्षण कोटाको पहिलो नम्बरमा नाम निकालेका छन् । उनले राम्रो कलेज छान्न पाउँछन् । ढिलै भए पनि परिणाम सुखद् आएकोमा खुसी छु ।’

अभयले मेडिकल तयारी कक्षा पढे पनि कृतिका कहिल्यै तयारी कक्षा पढिनन् । उनी दाइ अभयबाटै पढेर पहिलो प्रयासमै नाम निकाल्न सफल भएको बुवा जितेन्द्र बताउँछन् । अभयले १४५ अंक ल्याएर मधेसी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थानमा नाम निकालेका छन् ।

कृतिकाले १२२ स्कोर ल्याएर मधेसी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थान सुरक्षित गरेको जितेन्द्रले बताए ।

पढाइमा उनी दुवै(अभय र कृतिका) सानैदेखि जेहेनदार थिए । ‘छोराछोरीको मिहनेत र श्रीमतीको मार्गनिर्देशले आज रंग ल्याएको छ,’ भाभुक हुँदै जितेन्द्रले भने, ‘हाम्रो जस्तो सामाजिक र आर्थिक हैसियत भएका अभिभावकका लागि छोराछोरीलाई मेडिकल शिक्षा पढाउनु सपना थियो । अहिले गाउँदेखि सहर, राजनीतिक क्षेत्रका व्यक्तिदेखि सामाजिक क्षेत्रका मानिसले फोन गरेर बधाई दिइरहनु भएको छ । यो उपलब्धि मेरो पारिवारिक प्रयत्नले मात्र पनि सम्भव भएको होइन ।’

यसको जस देश र मधेसमा विभिन्न समय भएका अधिकार आन्दोलनलाई जाने उनले बताए । ‘मधेस आन्दोलन, दलित आन्दोलनको उपलब्धि स्वरूप व्यवस्था भएको ‘आरक्षण’ को देन हो जो दलितका छोराछोरी डाक्टरी पढ्न पाइरहेका छन्,’ उनले भने, ‘यी आन्दोलन र यसका अगुवाको सम्मानमा उच्चारण गर्ने शब्द फुरिरहेको छैन ।’

जनकपुरका प्राध्यापक भोगेन्द्र झा भन्छन्, ‘आरक्षण नभइदिएको भए सीमान्तकृत समुदायका छोराछोरीका लागि मेडिकल शिक्षा पढ्ने रहर सपनामै सीमित हुन पुग्थ्यो । राजनीतिक, सामाजिकलगायत कारणले पछाडि परेका समुदायको पहुँच अभिवृद्धिका लागि विशेष कोटा व्यवस्था गर्नु राज्यको दायित्व हुन्छ,’ प्राध्यापक झा भन्छन्, ‘मधेस, माओवादी आन्दोलनको बलमा आएको आरक्षणको व्यवस्थाले समाजमा सकारात्मक परिणाम देखाउँदैछ । दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर सुरक्षित भएको छ । तर यो आरक्षणको व्यवस्था सर्वकालीन हुनु हुँदैन यसले मानिसलाई पंगु बनाउने सम्भावना पनि उत्तिकै हुन्छ ।’

विश्लेषक तुलानारायण साहको विश्लेषणमा ‘आरक्षण’ व्यवस्था संरचनागत असमानताको अन्त्य नभई क्षतिपूर्ति हो । ‘यो व्यवस्थालाई ऐतिहासिक विभेदको क्षतिपूर्तिभन्दा उचित हुन्छ,’ उनले भने, ‘आरक्षणको व्यवस्थाले मधेसी समाजमा समान्ताको रंग देखिन थालेको छ । दलित समुदायका बच्चाहरू स्कुल÷कलेज पढ्न थालेका छन् । फलतःसरकारी जागीर देखि मेडिक शिक्षा अध्यनमा उनीहरूको उपस्थिति देखिन थालेको छ । आरक्षण व्यवस्था नभइदिएको भए अवस्था फरक हुन्थ्यो । आरक्षणको कमाल समाजमा व्यापक हुँदैछ ।’

२०६३ सालअघि राज्यसत्तामा पहुँचका अधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए । यी समुदायमाथि संरचनागत्त विभेद व्याप्त थियो । यही विभेदलाई सम्बोधन गर्न अन्तरिम संविधान–२०६३ मा आरक्षणको प्रावधान ल्याइयो ।

त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै छवटा क्लस्टर छुट्ट्याएर आरक्षण लागू गरिएको थियो । त्यसका लागि निजामती ऐन–२०६४ संशोधन गरिएको थियो । तर पछि निजामती सेवामा खुलाइएका दरबन्दीमध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्ट्याई त्यसलाई शतप्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांगता भएका व्यक्ति ५ प्रतिशत र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत भाग लगाइयो । आरक्षणको मुख्य अवधारणा ऐतिहासिक विभेदको क्षतिपूर्ति नै भएको विश्लेषक साहको तर्क छ ।

महोत्तरीका बुद्धिजीबि चन्दन दुवे भन्छन्, ‘आरक्षणको व्यवस्थाले सिमान्तका लागि अवसरलाई सहज बनाइदिएको छ । जसका कारण अभय र कृतिका जस्ता अब्बल विद्यार्थी डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन् र उनलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवायुवतीहरू राज्यमा पहुँचका लागि हौसिएका छन् ।’

अभय र कृतिकाले आरक्षणको उपयोगका लागि प्रतिस्पर्धामा खरो उत्रिन मिहिनेत पनि उत्तिकै आवश्यक भएको बताउँछन् । उनीहरू आफ्नो सफलताको जस बुवाआमा, शिक्षक, सहयोगीलाई दिन्छन् । विशेष श्रेय उनीहरू आफ्नी आमा ममतालाई दिन चाहन्छन् । कारण ममताले आफ्नो महत्वपूर्ण समय उनीहरूलाई पढाउनमै खर्चिइन् ।

छोराछोरीको पढाइका लागि उनी गाउँको घर छोडेर आफूलाई काठमाडौंको डेरामा खुम्च्याइन् । छोराछोरीलाई खाना पकाउने, कपडा धोइदिनेलगायतका सम्पूर्ण काम उनी गर्थिन् र छोराछोरीलाई सम्पूर्ण समय पढाइमा खर्चिन लगाउँथिन् । शून्य समयमा समेत उनले छोराछोरालाई हौसला र हिम्मत पढाउने खालको कथाहरू सुनाउँथिन् ।

‘हौसला बुलन्द राखेपछि परिणाम पनि बुलन्द नै आउँछ भनेर आमाले भन्ने गर्नुहुन्थ्यो साँचै रहेछ,’ अभय र कृतिकाले एकैस्वरमा भने । अभय र कृतिकाको रोजाइको पहिलो मेडिकल कलेज आइओएम स्वास्थ्य विज्ञान प्रतिष्ठान महाराजगञ्ज हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here