२३ साउन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले अत्यावश्यक काम नपरेर बाहिर ननिस्कन सबै नागरिकलाई अनुरोध गरेका छन् ।
शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएकोले अत्यावश्यक काम परेका बेलामात्र घरबाहिर निस्कन आग्रह गरेका हुन् । उनले घरबाट बाहिर निस्कनै परे सही ढंगले मास्क लगाउन, भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न समेत आग्रह गरेका हुन् ।
कोरोना महामारीविरुद्ध लड्न सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने प्रभावकारी माध्यम खोप रहेको भन्दै उनले खोप लगाउन खोपकेन्द्रहरुमा जाँदा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भिडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाकाे भिडियाे सन्देश