जापानबाट एस्ट्राजेनेकाको पाँच लाख तेह्र हजार डोज खोप आइपुग्यो

२३ साउन, काठमाडौं
जापानले अनुदानमा दिएको कोभिड–१९ विरुद्ध एस्ट्राजेनेकाको ५ लाख १३ हजार डोज खोप शनिबार काठमाडौं ल्याइएको छ ।

जापान सरकारद्वारा नेपाल सरकारलाई कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराउने भनिएको १६ लाख डोज एस्ट्राजेनेकाको खोपमध्ये आज पहिलो खेप ५ लाख १३ हजार ४ सय २० डोज नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहान ९ बजे कतार एयरको जहाजबाट एस्ट्राजेनेकाको खोप आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जापानी राजदूत नकिकुता युताकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त खोप हस्तान्तरण गरेका थिए । आइतबार थप तीन लाख डोज र बाँकी एक साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले जापानबाट र भुटानबाट आएका खोप कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाउने तयारी गरेको छ । शुक्रबार भुटानबाट २ लाख ३० हजार मात्रा कोभिशिल्ड खोप ल्याइएको थियो ।

भारतबाट खोप नआउँदा कोभिशिल्डको पहिलो डोज लगाएका १४ लाख ५० हजार जना दोस्रो डोजको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here