२३ साउन, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
कक्षा १२ को परीक्षा यही साउन ३१ देखि भदौ ९ गतेसम्म लिने बोर्डको तयारी थियो । तर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बोर्डलाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।
कोरोना संक्रमणदर बढ्दै गएपछि जोखिमकाबीच सञ्चालन गर्न कठिन हुने भएपछि बोर्ड परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको हो ।