२३ साउन, काठमाडौं
नेपालमा आजदेखि ‘नेपाल मास्क अभियान’ सुरु भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सप्ताहव्यापी मास्क अभियान सञ्चालन गरेको हो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु गरेको हो । सप्ताहव्यापी अभियानको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शुभारम्भ गरेका छन् ।
देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो संक्रमण र सम्भावित तेस्रो लहरबारे सबैलाई सचेत गराई संक्रमण रोकथाममा मास्कको महत्व थप बुझाउने उदेश्यले अभियान आयोजना गरिएको केन्द्रले जनाएको छ । सहि तरिकाले मास्क नलगाउँदा आफू संक्रमित हुनुका साथै अन्य व्यक्तिलाई समेत संक्रमण सार्ने सम्भावना उच्च हुन्छ ।
ग्रामीण तथा शहरको बाहिरी भेगका प्रायः मानिसहरुले सही तरिकाले मास्क नलगाउने र कतिपयले त मास्क नै नलगाउने गरेको पाइएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । बोल्दा, खोक्दा, गीत गाउँदा, हाँच्छ्यु गर्दा निस्कने स–साना छिटाहरूबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेकाले संक्रमणको फैलावट रोक्न एउटा महत्वपूर्ण उपाय सहि तरिकाले मास्कको प्रयोग गर्नु हो ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा पछिल्लो समय पुनः संक्रमण बढ्दै गएकोले जनस्वास्थ्यको पालना गर्न र उचित तरिकाले सबैले मास्क लगाउनु पर्नेमा जोड दिए ।
बजारमा अहिले थरीथरीका मास्कहरू उपलब्ध छन् । जसमध्ये एन ९५ मास्कलाई अलि भरपर्दो मानिएको छ । यसले कोरोना भाइरसमात्र नभई अन्य विभिन्न खालका भाइरस र त्यसबाट हुने संक्रमण रोक्ने बताइन्छ ।
बजारमा सर्जिकल मास्क, कपडाको मास्क, एक्टिभेट कार्बन मास्क, स्पन्ज मास्क पनि पाइन्छ । आजदेखि सुरु भएको नेपाल मास्क अभियान साउन २९ गतेसम्म सञ्चालन हुनेछ ।