२३ साउन, काठमाडौं ।
लुम्बिनी प्रदेशकी सांसद तथा मन्त्री कल्पना पाण्डे अहिले राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत छिन् । जनता समाजवादी पार्टिकी नेतृसमेत रहेकी उनको स्वास्थ्यावस्था निकै कमजोर रहेको चिकित्सक बताउँछन् ।
प्रदेशकी उद्योग, वन तथा वातावरणमन्त्री पाण्डे उपचारका सिलसिलामा आइसियूमासमेत रहिन् । अस्पतालका अनुसार उनलाई न्यूरोसम्बन्धि रोग देखिएको छ । आइतबारदेखि उनको दुवै खुट्टा नचल्ने भएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
उनको उपचारमा प्रतिदिन डेढ लाख रुपैयाँ खर्च भइरहेको छ । उनलाई महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादवको पक्षमा लाग्न रुपैयाँ र मन्त्री पदको लोभ देखाइए पनि उनले ठाकुरको साथ छोडेकी थिइनन् ।
उनको पारिवारिक स्रोतका अनुसार श्रीमानले यादवको पक्षमा लाग्न सुझाव दिएपछि उनले पैसा र पदको लोभमा ठाकुरलाई धोका नदिने बताएकि थिइन् ।
‘यदि मेरो उपचारका लागि पैसा छैन भने म मृत्यु रोज्छु । तर जसले मलाई सांसद र मन्त्री बनाएर मेरो गरिमा बढाउनुभयो म वहाँलाई धोका दिन सक्दिनँ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै उनको परिवारका एक सदस्यले भने ।
बिनु पन्तले राजिनामा दिएपछि उनको स्थानमा पाण्डेलाई जसपाले समानुपातिकबाट प्रदेश सांसद सिफारिस गरेको थियो । जेठ २०७५ मा उनी नियुक्त भएकी थिइन् ।
पछिल्लो पटक उनी महन्थ ठाकुर पक्षबाट प्रदेशको मन्त्री बनेकी थिइन् । ६ र १९ वैशाखमा पाण्डे मन्त्री नियुक्त भएकि थिइन् । जसपछि उपेन्द्र यादव पक्षले उनीसहितका सांसदमाथि कारवाही गरेको थियो ।