२२ साउन, काठमाडौं
प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व शुक्रबार मनाइएको छ । विशेषगरी काठमाडौंका भित्री भागका नेवार समुदायले गठेमङ्गल मनाउने गर्छन् ।
नेवार समुदायको बाहुल्यता रहेको अन्य सहर बजारमा पनि यो पर्व मनाइएको छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ ।
आजको चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आज विभिन्न धातुबाट बनेका औँठी किनेर लगाएमा नकारात्मक तत्वबाट शरीरलाई रक्षा गर्छ भन्ने विश्वास समेत छ ।
गठेमगंललाई नेवाः भाषामा गथांमुगः भनिन्छ र यसै शब्दवाट अपभ्रशं हुँदै नेपालीमा गठेमंगल भएको बताइन्छ । गठेमगंलवाट लाखे नाच पनि शुरुवात हुन्छ र लाखे नाच एक महिनासम्म चल्दछ । घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ ।