पार्टी एकतामै जोड दिने माधव नेपाल समूहको निष्कर्ष

२२ साउन, काठमाडौं
पार्टी एकतामै जोड दिने निष्कर्षसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटि बैठक सकिएको छ ।

दुई दिन सम्म चलेको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी एकतामै जोड गरेको नेता रघुजी पन्तले जानकारी दिए । उनका अनुसार पार्टी एकताका लागि सजगताका साथ अगाडी बढ्ने निर्णय बैठकले गरेकाे छ । शुक्रबार स्थायी कमिटीले तयार पारेको चारवटा प्रस्ताव केन्द्रीय समिति बैठकले पास गरेको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनाको स्वागत गर्दै बैठकले पार्टी एकताको लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेका बेला वरिष्ठ नेता नेपाललगायत विभिन्न नेताहरूमाथि अनेकौं टिप्पणी गर्ने र लान्छना लगाउने काम भएकोप्रति दुख व्यक्त गरेको नेता पन्तले बताए । यस्तैगरी, सम्पूर्ण पार्टीपङ्क्ति विचार व्यक्त गर्दा संयमित, जिम्मेबार र संवेदनशील हुन सबैको ध्यानाकर्षण पनि गराएको छ ।

एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला संस्थापन पक्षले थालेको सदस्य नवीकरण, विधान अधिवेशन लगायतका गतिविधि रोक्न पनि माग गरेको छ । संस्थापन पक्षले भदौमा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । १० बुँदे सहमतिलगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेको बैठकको निष्कर्ष छ ।

यसैवीच वरिष्ठ नेता माधव कुमार नेपालले आफू एकता विरोधी नभएको बताएका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका नेता रघुजी पन्तले जानकारी दिए ।

एकताको प्रयत्न चलिरहेको बेलामा एकतामै जोड दिनुपर्ने भन्दै नेता नेपालले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here