२२ साउन, काठमाडौं
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा–१२ को परीक्षा सम्बन्धमा पुनःविचार गर्न निर्देशन दिएको छ ।
सिसिएमसीले परीक्षाका सम्बन्धमा पुनः विचार गरेर निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो । कोरोना महामारीका कारण रोकिएको कक्षा–१२ को परीक्षा यही साउन ३१ गते भौतिक उपस्थितिमै सञ्चालन गर्नेगरी बोर्डले तयारी गरेका बेला सिसिएमसीले यस्तो निर्देशन दिएको छ ।
यससँगै १२ कक्षाकाे परीक्षा अन्योलमा परेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न बोर्डले पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको थियो ।
तर सिसिएमसीले पुनर्विचार गरेर मात्र परीक्षाबारे निर्णय लिनू भनेर पत्र पठाएपछि परीक्षाका विषयमा अहिले केही भन्न सक्ने अवस्था नरहेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।