२२ साउन, काठमाडौं
बौद्ध धर्मको ग्रन्ध देखाएर रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमुल्य ग्रन्थ देखाएर ठगी गरेको आरोपमा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भई चाबहिल बस्ने ३० वर्षीय रजिन राई पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई बौद्ध ग्रन्थ तीन करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
महाशाखाका अनुसार पक्राउ परेकाहरुले यही साउन १४ गते उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरबाट उक्त रकम ठगी गरेको पाइएको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।