महाकाली नदीमा युवक वेपत्ता घटना : सरकारी छानबिन टोली घटनास्थल पुगेर फर्कियो

२१ साउन, काठमाडौं
दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गरेर सरकारी टोली फर्किएको छ ।

भारतीय बाटो हुँदै गस्कु–मालघाट गएको छानबिन समितिको टोली घटनास्थलको वस्तुस्थिति हेरेर बिहीबार नै जिल्ला सदरमुकाम खलंगा फर्किएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार टोलीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीका सम्बन्धमा पनि जानकारी लिएको छ ।

गृहमन्त्रालयले उक्त घटनाको बारेमा छानवीन गर्न सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली गठन गरि परिचालन गरेको थियो । सरकारी टाेलीले सहजीकरणका लागि भन्दै भारतको डिडीहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारीलाई पनी लिएर गएको सहायक प्रजिअ जोशीको भनाई छ ।

यता, गृह मन्त्रालयको टोलीविरुद्ध स्थानीयले नाराबाजीसहित मालघाटमा प्रदर्शन प्रदर्शन गरेका थिए ।
महाकाली नदीमा बेपत्ता भएका जयसिंहका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत नगरी सरकारी टोली भारतीय भूमिबाट घटनास्थलको निरीक्षणका लागि पुगेपछि प्रदर्शन गरिएको बताएका छन् ।

यही साउन १५ गते व्यास गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । धामी अझै फेला परेका छैनन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तुइन तर्ने क्रममा तुइनको तार काटिदिंदा धामी महाकाली नदीमा खसेको उनीसँगै गएका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here