लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

२१ साउन, काठमाडौं
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनद्वारा विशेष अधिवेशन आह्वान गरिएको हो । लुम्बिनी प्रदेशमा विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालिसकेका छन् ।

बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए । विपक्षी दलहरूले ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाइसकेका थिए ।

सोमबार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुखलाई भेटेर संयुक्त निवेदन दिएका थिए ।

प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीसहितले निवेदन बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here