२१ साउन, काठमाडौं
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने पाँच सय ग्राम सुनसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङको मझुवागढी नगरपालिका–१३ का ४१ वर्षीय अम्बर चाम्लिङ रहेका प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार उनीहरुको साथबाट ८ वटा सुनको बाला र २ वटा औंठी गरी चार सय ७४ ग्राम सुन बरामद गरिएको छ ।
बरामद गरिएको सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ । बिहान करिब सवा ८ बजे विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा बसिरहेका रिसबमाथि शंका लागेपछि प्रहरीले निगरानी गरेको थियो । त्यसक्रममा साउदीबाट जजिरा एयरलाइन्सको उडानमा काठमाडौं आएका यात्रुहरूबाट उनले गहना संकलन गर्दै गरेको देखेपछि प्रहरीले उनलाई पक्राउ गर्यो ।
विभिन्न यात्रुहरुलाई उतैबाट भरिया बनाई आफ्नो शरिरमा गहना लगाउन लगाएर ल्याएको सुन विमानस्थलमा संकलन गर्न लाग्दा प्रहरीले रिसवलाई पक्राउ गरेको हो । उनीसँग सोधपुछ गरेपछि तिलगंगास्थित खोटाङ हलेसी गेष्ट हाउस संचालन गरिरहेका चाम्लिङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले हिजो बुधबार पनि सिनामंगलस्थित एक होटलबाट एक किलो आठ सय ६६ ग्राम सुनसहित तीन जना भारतीयलाई पक्राउ गरेको थियो ।