२१ साउन, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण शुरु भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि क्रिकेट टीमले किर्तिपुर क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ ।
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल बन्द प्रशिक्षणमा सहभागी छन् ।
यस्तैगरी, मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिस क्लबका खेलाडी गुलशन झालाई पहिलो पटक समावेश गरिएकाे छ । लिग–टू मा नेपालले अहिलेसम्म चार खेल खेलेकोमा दुईमा जित र दुईमा हार व्यहोरेको छ ।
छैटौं स्थानमा रहेको नेपालको ४ अंक छ । दश खेल खेलेको ओमान १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । १२ खेलबाट १२ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।