२१ साउन, काठमाडौं
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको आरोप लगाएकी छिन् ।
बिहीबार पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमै रहेको प्रष्ट पार्दै उनले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको खुलासा गरेकी हुन् । मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको उनले विज्ञप्तिमार्फत पनि उल्लेख गरेकी छिन् ।
प्रदेश सांसद वलीले नेपालगन्ज उपचारका लागि जान लागेको आफूलाई एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले नेपालगन्ज पुर्याइदिने भन्दै घरमै आएर गाडीमा राखि नेपालगन्ज नगई बुटवलतर्फ लगेर मुख्यमन्त्रीको निवासमा लगि साउन १६, १७, १८, १९ र २० गतेसम्म थुनेर राखिएको बताएकी छिन् ।
१८ गते विज्ञप्ति लेखेर पढ्नै नदिई हस्ताक्षर गराई बाहिर ल्याएको समेत उनले उल्लेख गरेकी छिन् । वलीको हस्ताक्षरमा आफू एमालेमै रहेको उल्लेख गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरिएकोमा माओवादी केन्द्रले उनलाई मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर जवरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो ।
झण्डै एक हप्ता पार्टीको सम्पर्कमा नरहेकी वली बुधबार बिहान प्रदेशसभा सचिवालयस्थित माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी थिइन् ।