जबरदस्ती बरखास्त गरे अदालत जाने शाक्यको चेतावनी

२१ साउन, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन भनेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन् । सरकारले दण्डित गरेर नभई आवश्यकताको आधारमा उचित स्थानमा सरुवा गरे जान तयार रहेको पनि कार्यकारी निर्देशक शाक्यले बताए ।

‘सरकारले वैकल्पिक बाटो दिएको खण्डमा शिरोधार्य गर्न तयार छु,’ उनले भने, ‘विगतमा मैले कागतीलाई लेमनेट बनाएको छु । त्यसैले राम्रो अवसर दिएको खण्डमा जुनसुकै ठाउँमा पनि गरेर देखाउन सक्छु ।’ शाक्यले आफूलाई कसैले पनि राजीनामा दिन नभनेको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा शाक्यले दण्डित गरेर जबर्जस्ती हटाएको खण्डमा न्यायिक उपचार खोज्ने बताए । शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको ६–७ महिनामा कोभिड–१९ को बाबजुद राम्रो काम गरेको दाबी गरे ।

कोभिड–१९ बीच पनि विगतको भन्दा विश्वसनीय बिजुली आपूर्ति गरिरहेको उनको दाबी छ । विद्युत् चुहावट प्रभावकारी ढंगले नियन्त्रण गर्न नसकेको स्वीकार्दै उनले यसको दोष कोभिड–१९ लाई दिए ।

उनका अनुसार अघिल्लो वर्ष ४० पटक सिस्टम कोल्याप्स भएकोमा गत आर्थिक वर्षमा ३४ पटक मात्रै भएको थियो । कार्यकारी निर्देशक शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेपछि माथिल्लो तामाकोसी आयोजनालाई बिजुली उत्पादन गर्न सक्ने अवस्थामा ल्याएको बताए ।

‘मैले नेतृत्व सम्हाल्दा तामाकोसी आयोजनामा समस्या कायमै थियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here