दुई रिसोर्टले पाए ‘लक्जरी रिसोर्ट’ को मान्यता

२१ साउन, काठमाडौं ।

थानकोनको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले ‘लक्जरी रिसोर्ट’को मान्यता पाएका छन् । बनेपास्थित आगन्तुक रिसोर्टले भने ‘डिलक्स’ स्तरको मान्यता पाएको छ ।

यी तीन बाहेक देशभरका अन्य रिसोर्टको स्तर भने ‘साधारण’ हुने छ । पर्यटन विभागले विभागमा दर्ता भएका रिर्सोट तथा तारास्तरका होटेलहरुको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार ‘साधारण’ स्तरमा रहेका रिसोर्टको संख्या भने ९९ वटा रहेको छ । यो स्तरमा पर्यटक स्तरका अधिकांश रिसोर्टहरु समेटिएका छन् ।

काठमाडौं, नगरकोट, धुलिखेल, पोखरा र सौराहाका स्तरीय रिसोर्टहरु यो सूचिमा अटाएका छन् ।

विभागले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलहरुको वर्गीकरणको मापदण्डका आधारमा रिसोर्ट तथा होटेलहरुको वर्गिकरण गरेको हो ।

एक वर्षमा ६ वटा चारतारे होटेल थपिए
विभागका अनुसार अब देशभर चार तारे होटेलको संख्या भने १९ पुगेको छ । २०७७ सालयता मात्र ६ वटा नयाँ चार तारे होटेल थपिएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा पहिलो पटक लाजिम्पाटस्थित होटेल शंकर चार तारे स्तरमा वर्गिकरण भएको थियो ।

पछिल्लो पटक भने १९ औं कम्पनीका रुपमा बाँकेको होटेल स्टारलाइट यो स्तरको होटेलमा वर्गिकरण भएको छ । सो होटेललाई ४ साउन २०७८ मा चार तारे मान्यता दिइएको हो ।

देशभर रहेका चार तारे होटेलमा कुल १ हजार ६ सय ३२ वटा कोठा छन् । यी होटेलले एकै पटकमा २ हजार ४ सय ८७ पाहुनालाई सेवा दिन सक्छन् । चार तारे होटेलको बाहुल्य भने मोफसलमै छ ।

काठमाडौंमा शंकरबाहेक कुपण्डोलको होटेल हिमालय प्रालि, रविभवनको होटेल क्राउन इम्पेरियल, ताहाचलको ग्राण्ड होटेल र धुम्बाराहीको अकामा होटेल मात्र काठमाडौंका चार तारे होटेल हुन् । मोफसलमा भने बाँकेमा बढी यो स्तरका होटेल छन् ।

तीन तारे होटेल ३३ वटा
पर्यटन विभागका अनुसार देशभर तीन तारे होटेलको संख्या ३३ रहेको छ । नेपालमा पहिलो तीन तारे होटेल कान्तिपथको होटेल माउन्टेन हो ।

कुल तीन तारे होटेलमा कुल २ हजार ६२ कोठा र ३४१२ सैया रहेका छन् । दुई तारे होटेलको संख्या भने ४१ पुगेको छ ।

यी होटेलमा कुल १५९८ कोठा र २८८० बेड रहेका छन् । विभागका अनुसार एकतारे होटेलको संख्या ३४ पुगेको छ । यी होटेलमा ७६२ वटा कोठा छन् । यी होटेलमा एक साथ १३४४ जना पाहुनाले सेवा लिन सक्छन् ।

हेरिटेज बुटिक होटेलको ‘लक्जरी’ स्तरमा तीन होटेल
सरकारले मौलिक शैलीमा निर्माण भएका स्तरीय होटेलहरुलाई भने हेरिटेज बुटिक होटेलका रुपमा वर्गिकरण गर्न थालेको छ । यस वर्गिकरणको लक्जरी स्तरमा तीन वटा होटेल सूचीकृत बनेका छन् ।

बत्तिसपुतलीस्थित द्धारिकाज् काठमाडौं भिलेज होटेल, बबरमहलमा खुलेको बसेरा बुटिक होटेल र बुढानिलकण्ठमा खुलेको पवेरा बुटिक होटेललाई लक्जरी हेरिटेज बुटिक होटेलमा वर्गीकरण गरिएको विभागको सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here