२० साउन, काठमाडौं
नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने भएको छ ।
बुधबार शीर्ष नेताहरू प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने सहमति भएको छ ।
बैठकमा अरू पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका रमेश लेखकले जानकारी दिए ।
उनले भने ‘यसले निरन्तरता पाउँछ र २/३ दिनभित्र टुंगिन्छ ।’ बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ ।
कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ ।