२० साउन, काठमाडौं
प्रहरीले १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवाद बस्ने २७ बर्षका साकिर अली, २८ बर्षका अब्दुल सतार र २४ बर्षका प्यार मोहम्मद रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले १ केजी ८६६ ग्रामको सिल्भर रङको पोलिस लगाएको सुनजस्तै देखिने धातुसहित भारतिय ५ सय दरको २११ थान अर्थात भा.रु. १ लाख पाँच हजार पाँच सय रुपैंया समेत बरामद गरेको छ ।
अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरी साकिर अली समेतका व्यक्तिहरुले विभिन्न देशबाट भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी काठमाण्डौ ल्याई कारोवार गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली खटिएको थियो ।
महाशाखाको टोलीले निगरानी राख्दै खोजतलास गर्दा बुधबार बिहान काठमाण्डौ महानगरपालिका वडा नं.९ सिनामगंलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट उनीहरुलाई पक्राउ गरेको थियो ।
‘उनीहरुले आफू बसेको कोठामा कालो रङको सुटकेश भित्र सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको रोल थान–८, टुक्रा थान–२, बिस्कुट आकारको पाता थान–१ गरी जम्मा एकमुष्ट तौल १ के.जी.८६६ ग्रामको धातुहरु बरामद गरी पक्राउ गरिएको’ महाशाखाले जारी गरेको घटना विवरणमा भनिएको छ ।
प्रारम्भिक अनुसन्धानमा बैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी बिभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई छिपाई, जलप लगाई स्वरुप समेत परिवर्तन गरी भन्सार छली ल्याउने गरेको बुझिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।