१९ साउन, काठमाडौं
सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फर्काउने तयारी गरेको छ ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक प्रक्रिया पूरा गरेर कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ति गर्न ऊर्जा मन्त्री पम्फा भुसाललाई देउवाले निर्देशन दिएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा घिसिङलाई हटाइएको थियो ।
घिसिङलाई पुन नियुक्त गरी प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन लगाइदैछ । ऊर्जामन्त्री भुसालले मंगलबार नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरिसकेकी छिन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।
ऊर्जा मन्त्रालयले गत कात्तिक २१ गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।
नेपाललाई लोडसेडिङमुक्त बनाएका घिसिङलाई प्राधिकरणमा नदोहो¥याएको भन्दै सत्तासँगै विपक्षी दललगायत स्वतन्त्र नागरिक समाजले ओली सरकारको विरोध गरेका थिए ।