१९ साउन, काठमाडौं
निर्वाचन आयोगले ४१ वटा दलको दर्ता खारेज गरिदिएको छ । वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरिएको आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
खारेज गरिएको दलमा संविधानसभामा सांसद र मन्त्री बनाएको पार्टी चुरे भावर समेत छ । आयोगले खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत गरेको छ ।
जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न सम्बन्धित निकायमा लेखेर पठाइएको छ । दर्ता खारेज भएका दलका पदाधिकारीहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने भएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।