१९ साउन, काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा तोडेर सभा, जुलुस गरे कारबाही गर्ने भएको छ ।
मंगलबार अत्यन्त जरुरी सूचना जारी गरि प्रशासनले सभा जुलुस जस्ता कार्यले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा कोरोनाको संक्रमणदर उच्च हुंदै गएको छ । अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका वेडहरुमा विरामीको चाप बढ्दै गएको छ ।
कोरोनाको संक्रमणदर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै जिम्मेवारी र भूमिका रहने प्रशासनले स्मरण गराएकाे छ । संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, सभा, सम्मेलन, धर्ना, गोष्ठी, जुलुस, र्याली जस्ता गतिविमिा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिचालन नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड–१९ को संक्रमणदर अझ उच्च हुन पुगेकाे छ ।
‘संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले यस्ता गतिविधिहरु नगर्न नगराउन सबै पक्षलाई सूचित गरिन्छ’ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ-जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उलंघन गरी गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’