१९ साउन, काठमाडौं
गृहमन्त्री बालकृष्ण खाँणले सरकारी टोलीले दार्चुला घटनाको अध्ययन गरिरहेको दाेहाेर्याएका छन् ।
दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा एक नेपाली युवाको मृत्युबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउंदै गृहमन्त्री खाँणले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएकोबारे सरकारी टोलीले अध्ययन गरिरहेको जानकारी गराएका हुन् ।
‘मालघाटबाट दार्चुला सदरमुकाम जान झण्डै दिनभरी हिँड्नुपर्छ । तर, तुइन चढेपछि भारतको धार्चुला हुँदै डेढ घण्टमा पुग्न सकिन्छ । जयसिंह धामीलगायतका टोली त्यहीँबाट जाँदै थियो । उनी बेपत्ता भएकोबारे सरकारी टोलीले अध्ययन गरिरहेको छ । उनीसँगै जाने साथीहरुसँग सोधपुछ भइरहेको छ’ गृहमन्त्री खाँडले भने ।
गृहमन्त्री खाँडले आइतबार राष्टियसभाको बैठकमा पनि दार्चुला घटनाबारे छानविन भइरहेको र सरकारी टोली अध्ययनको लागि घटनास्थल गएको मात्र बताएका थिए ।
मन्त्री खाँड भारतीय सिमा सुरक्षाबलले तुइन काटीदिएको बिषयमा खुलेर बोलेका छैनन् । उनले सरकारी टोलीले घटनाबारे अध्ययन गरी १० दिनमा प्रतिवेदन बुझाउने बताएका छन् ।
मन्त्री खाँणको जवाफ पर्याप्त नभएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले भने भारतसँग औपचारिक रुपमा नै बिरोध जनाउन माग गरेका छन् । दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तुइन काटिदिंदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर एमालेले सदनमा सरकारको जवाफ माग गरेको छ ।
आज प्रतिनिधिसभा बैठकको शुरूमै दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेश ठगुन्नाले घटनाका सम्बन्धमा भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाए । उनले दार्चुला घटना सम्बन्धमा संसदीय छानबिन गरि, भारतसँग औपचारिक विरोध गर्नुपर्ने माग गरे ।
गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्नका लागि सहसचिवक संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी परिचालन गरिसकेको जनाएको छ ।