व्यवस्थापन र कर्मचारीबीच बैमनस्यता उत्पन्न भएकोमा डा. गौतमद्वारा दुख व्यक्त

१९ साउन, काठमाडौं
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा.जागेश्वर गौतमले आइतबार भएको घटना प्रति दुख व्यक्त गरेका छन् ।

उनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत आइतबार छलफलका क्रममा केही कर्मचारीहरुबीच ठेलम ठेल हुँदा असहज परिस्थिति सृजना भएपछि प्रहरी प्रशासनको सहयोग लिन परेको डा. गौतमले स्पष्ट पारेका छन् ।

‘छलफलमा केही कर्मचारी साथीहरुले ठेलम ठेल गरी असहज परिस्थितिको सृजना भई शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी प्रशासनको सहयोग लिनु परेको अवस्थाले गर्दा व्यवस्थापन र कर्मचारी बीच बैमनस्यताको वातावरण सृजना भएकोमा अस्पताल प्रशासन दुख व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

डा. गौतमले आगामी दिनमा सबै प्रकारका समस्याहरुको समाधान सौहार्दपूर्ण वातावरणमा आपसी छलफल र संवादबाट गर्न सकिने समेत प्रष्ट पारेका छन् । उनले कोभिड महामारीको कारण अस्पतालको आम्दानीमा ह्रासले गर्दा कर्मचारीहरुले विगतमा खाईपाई आएको सेवा सुविधा प्रदान गर्न असहजता उत्पन्न भई समस्या सिर्जना भएको समेत उल्लेख गरेका छन् ।

आइतबार बार्ताका बीचमा झगडा उत्पन्न भएपछि अस्पताल प्रशासनले प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिएको थियो । सो क्रममा केही कर्मचारी तथा स्वास्थ्यकर्मीहरु घाइते समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here