दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

१८ साउन, सप्तरी

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

यादव प्रदेश नं २–०१–००१ प ९५५६ नं को मोटरसाइकल र चौधरी स ११ प ४०३८ नं को मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको उपचार लहानमा भइरहेको छ ।

मृतकको शव लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here