१८ साउन, काठमाडौं
इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन फेरी बन्द भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको यो आयोजनाको विद्युत उत्पादन बाढीका कारण बन्द भएको हो ।
शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नम्बरका टावरमा क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो । असारमा आएको बाढीले क्षति पुगेपछि करिब डेढ महिना बन्द भएको विद्युत उत्पादन पछि गत बुधबार मात्र सञ्चालनमा आएको थियो ।
आयोजनाका प्रमुख मानोलक श्रेष्ठका अनुसार सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र एउटा भाँचिएको छ । अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमासमेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।