फ्रि फायर खेल्दा पैसा खर्च भएपछि डिप्रेसन : बालकले गरे आत्महत्या

अनलाईन गेममा हजारौं रुपैंया गुमाएपछि भारतमा एक १३ बर्षीय बालकले आत्महत्या गरेका छन् ।

मध्य प्रदेशको छत्रपुरमा अनलाईन गेममा ४० हजार रुपैंया गुमाएपछि १३ बर्षीय एक बालकले आत्महत्या गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार ती बालकलाई फ्री फायर खेल्ने बानी परेको थियो ।

गत शुक्रबार आमा अफिस गएको समयमा ती बालकले उनको खाताबाट पैसा झिकेका थिए । अफिसमा भएकी आमाले आफ्नो खाताबाट पैसा काटिएको थाहा पाएपछि छोरालाई फोन गरेर हप्काएकी थिइन् । आमाले गाली गरेपछि छोराले एउटा सुसाईड नोट लेखेर आत्महत्या गरेको बीबीसी ले जनाएको छ ।

आफूले गेमको चक्करमा परेर ४० हजार रुपैंया गुमाएको भन्दै सुसाइड नोटमा आमासँग माफी मागेका समाचारमा उल्लेख छ । प्रहरी अधिकारी सचिन शर्माका अनुसार उनले डिप्रेसनका कारण आफूले आत्महत्या गरेको पनि लेखेका छन् ।

गत जनवरीमा पनि मध्य प्रदेशबै सागर जिल्लामा १२ बर्षका एक बालकले धेरै गेम खेलेको भन्दै मोबाइल खोसेपछि आत्महत्या गरेका घटना सार्वजनिक भएको थियो ।

यसै हप्ता दिल्ली हाइकोर्टले केन्द्र सरकारलाई बालबालिकालाई अनलाईन गेमको लतबाट बचाउनका लागि एक राष्ट्रीय नीति बनाउन आदेश दिएको थियो । बालबालिकामा अनलाइन गेम खेल्ने लतका कारण उनीहरुमा मनोवैज्ञानिक समस्या उत्पन्न हुने गरेका भन्दै अभिभावकहरु चिन्तीत भएका छन् ।

दिल्ली हाईकोर्टमा तिनै आमाबुबाले आफ्ना बालबालिकामा अनलाइन गेमका कारण चोरी गर्ने बानीदेखि डिप्रेसन आत्महत्यासम्म पुग्ने गरेको गुनासो र चिन्तासहितको निवेदन परेको थियो ।

पछिल्लो समय कोरोना महामारीका कारण पनि बालबालिकामा मोबाइलको प्रयोग र मोबाइलमा गेम खेल्ने बानी बढेको छ । गुगलले जनाएअनुसार फ्रि फायर सन् २०१९ मा सबैभन्दा धेरै डाउनलोड गरिएको गेम थियो ।

भारतमा बालबालिकामा यसको लोकप्रियता निरन्तर बढीरहेको छ । यो गेम फ्रि मै खेल्न सकिन्छ । तर कसैले कुनै क्यारेक्टर लिन चाहेमा त्यसको पैसा तिर्नुपर्छ । क्यारेक्टर खरिद गर्दा गेममा क्षमता बढ्ने भएकाले पनि यसमा बालबालिका लोभिने गरेका छन् ।

यस्तैगरी यसमा कयौं यस्ता कुराहरु खरिद गर्न सकिन्छ जसले क्षमता नबढाएपनि अन्य प्रतियोगिहरुको माझमा धेरै पैसा खर्च गर्न सक्ने देखाई लोकप्रियता बढाइदिन्छ ।

यही कारण १० देखि १८ बर्षका बालबालिकाले यसमा फसेर पैसा खर्च गर्ने गरको पाइएको छ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here