सुजिता हत्या प्रकरण : घटना लुकाउन बार्गेनिङ गर्ने आफ्नै बुबासहित तीनजना पक्राउ

१८ साउन, काठमाडौं
महोत्तरीकी सुजिता ठाकुर हत्या प्रकरणमा उनकै बाबु पक्राउ परेका छन् । प्रहरीले सुजिताका बुबा पिपरा गाउँपालिका–६ का ५० वर्षीय कामेश्वर पाण्डेसहित थप तीनजनालाई पक्राउ गरेको हो ।

कामेश्वरले घटना लुकाउन बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले सुजिताका बुबा कामेश्वरसहित भंगहा नगरपालिका–१ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर–२४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद)लाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले अनुसन्धानका क्रममा बाबुसहित दोषी देखिएकाले तीनजनालाई विभिन्न मितिमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी अञ्जु सुजिताको हत्या गर्ने मुख्य अभियुक्त उनका देवर रुपेश ठाकुरको दिदी हुन् ।

डिएसपी विष्टका अनुसार सुजिताको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बुबा कामेश्वरले बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ । रुपेशले हत्या गरेलगत्तै अञ्जुलाई जानकारी गराएका थिए । तर उनले पनि घटना लुकाउन सहयोग गरेको प्रहरीले जनाएको छ । यस्तैगरी पक्राउ परेका मण्डलले सुजिताको शव व्यवस्थापन गर्न सघाएका खुलेको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव गाडेको झण्डै एक महिनापछि असार २७ गते प्रहरीले निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here