१८ साउन, काठमाडौं
दार्चुलामा महाकाली तुइनबाट नदी तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर भारतीय दूतावास अगाडी प्रदर्शन भएको छ ।
नेपाली युवा धामीसहितको टोली नदी तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसवीका जवानले तुइन काटिदिंदा धामी महाकाली नदीमा वेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएपछि व्यापक विरोध भइरहेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) र युवा संघ नेपाल (माधव पक्ष) ले सोमबार लैनचौरस्थित दूतावास अगाडी प्रदर्शन गरेका हुन् । साउन १५ गते बिहान भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी खोलिदिँदा नेपाली नागरिक जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएका छन् ।
घटनाको वास्तविकता छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । पटक पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुव्र्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
उक्त घटनाको छानवीनका लागि गृहमन्त्रालयले टोली गठन गरी जिल्लातर्फ पठाइसकेको जनाएको छ ।