१८ साउन, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट सुरक्षाकर्मीबाहेक कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
आगामी १०० दिनको कार्ययोजना प्रस्तुत गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।
‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैंले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार-व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु उनले भनेका छन् ।
‘हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको छु, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अगाडी थपेका छन्- सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवारसुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।’
पदभार सम्हालेको १० औं दिनमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै खोपको व्यवस्थापन र वितरण रहेको बताएका छन् ।
कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख ९जसमध्ये ४० लाखको भुक्तानी भैसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको जानकारी गराउंदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ५ करोड २३ लाख खोप प्राप्त हुने अवस्था रहेको बताएका छन् ।