१७ साउन, जाजरकोट ।
नियम नमानेर जथाभावी सवारी साधन चलाउँदा अघिल्लो आवको तुलनामा गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोब्बर राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले मादक पदार्थ सेवन गरी चलाएको, सवारी चालक अनुमतिपत्र नभएको, जथाभावी सवारी पार्किङ गरेको, तोकिएभन्दा बढी भाडा लिएको आधारमा कारवाही गरी राजश्व उठाइएको बताएको छ ।
गत आव २०७६÷७७ मा रु १८ लाख ६९ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले आव २०७७÷७८ मा रु ४० लाख ४० हजार राजश्व सङ्कलन गरेको थियो ।
गत आवमा चार हजार ७ सय ५० सवारी साधनलाई कारवाही गरेको कार्यालयले जनाएको छ । (रासस)