मेलम्ची बाढी अपडेट : चनौटेको पुल बगायो

१७ साउन, सिन्धुपाल्चोक ।

शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीय हस्त पण्डितका अनुसार आइतबार बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।

पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here