एक वर्षभित्र १० अर्बले बढ्यो पेट्रोलियम पदार्थको आयात

१७ साउन, काठमाडौं ।

आर्थिक वर्ष २०७७–०७८ मा पेट्रोलियम पदार्थको आयात १० अर्ब रुपैयाँले बढेको छ ।

बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो ।

यसै पनि नेपालमा सबैभन्दा बढि आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपत बढ्दै गएकाले नेपाल आयल निगमले गएको वर्ष इन्डियन आयल कर्पाेरेशन (आईओसी) लाई इन्धन खरिद गरेबापत १ खर्ब ५५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमका अनुसार आव २०७६–०७७ मा वर्ष १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०७७–०७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँले इन्धन आयात बढेर एक खर्ब ५५ अर्ब पुगेको जानकारी दिए ।

‘अघिल्लो वर्ष कोभिडको संक्रमण नियन्त्रण गर्नका लागि लामो समयसम्म गरिएको निषेधाज्ञाको कारणले गर्दा बजारमा इन्धन खपत कम भएको थियो,’ उनले भने, ‘यो वर्ष निषेधाज्ञा नभई निरन्तररुपमा सवारीसाधन चलेकाले पनि इन्धन आयात बढेको हो ।’

निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टितेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ ।

यस्तै खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । १ खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेवापत निगमले सरकारलाई एक वर्षमा ९८ अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।

एक वर्षको अवधिमा निगमले पूर्वाधारमा २२ अर्ब, वातावरण शुल्क ३ अर्ब ४३ करोड, सडक मर्मत दस्तुर ५ अर्ब २५ करोड, भन्सार शुल्क ३७ अर्ब, मूल्य अभिवृद्धि कर २९ अर्ब तिरेको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात भएको थियो ।

आर्थिक वर्ष २०७४–०७५ मा मुलुकले १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २७ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो ।

निगमले पेट्रोल आयात गर्दा २५ रुपैयाँ भन्सार शुल्क, ४ रुपैयाँ सडकमर्मत दस्तुर, १० रुपैयाँ पूर्वाधार कर, १ रुपैयाँ ५० पैसा वातावरण शुल्क, १५ रुपैयाँ मूल्य अभिवृद्धि कर गरेर पेट्रोलमा प्रतिलिटरमा ५६ रुपैयाँ कर तिर्नुपर्छ ।

यस्तै डिजेल आयात गर्दा १२ रुपैयाँ भन्सार शुल्क, २ रुपैयाँ सडक मर्मत दस्तुर, १० रुपैयाँ पूर्वाधार कर, १ रुपैयाँ ५० पैसा वातावरण शुल्क, १३ रुपैयाँ मूल्य अभिवृद्धि कर, १ रुपैयाँ १२ पैसा मूल्य स्थिरिकरण कोषमा जम्मा गरेर डिजेलमा ३९ रुपैयाँ कर रहेको छ ।

विभिन्न शीर्षकमा लगाइएको करको कारणले गर्दा उपभोक्तालाई महङ्गोमा इन्धन खरिद गर्नुपरेको छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा डिजेल प्रतिलिटर ४३ र पेट्रोलमा २६ रुपैयाँ सस्तो रहेको छ ।

इन्धनको कारोबार गर्दा गएको वर्ष निगमले घाटा बेहोरेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेकाले आगामी वर्ष ४ अर्ब घाटा हुने निगमले अनुमान गरेको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा निगमले १२ अर्ब ९० करोड नाफा कमाएको थियो । आव २०७१–०७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको हो । गतको पुस महिनादेखि इन्धनको मूल्य लगातार बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here