१६ साउन, काठमाडौं
भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले तुइन काँटीदिंदा एक नेपालीको मृत्यु भएको भन्ने घटनाप्रति दार्चुला प्रशासनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदिएको भन्ने पुष्टि भइनसकेको जनाएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ।
शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए । उक्त खबर प्राप्त भएलगत्तै गृह मन्त्रालयले घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले विज्ञप्ति जारी गर्दै एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना–समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन् ।
‘सो घटना अनुसन्धान–छानविनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहीन सूचना–समाचार प्रकाशन नगरिदिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको पनि जनाएको छ । यस्तैगरी उक्त घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिइएको छ ।