१६ साउन, काठमाडौं
विद्यार्थी संगठनले राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पाँच विद्यार्थी सङ्गठनका पदाधीकारीहरुले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गरि योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राखे ।
उनीहरुले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न समेत माग गरेका छन् । दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति उनीहरुले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरे ।
प्रधानमन्त्रीलाई भेट्न नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (छैँटौँ)का अध्यक्ष विमल पोखरेललगायत बालुवाटार पुगेका थिए ।
उनीहरुले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै उनीहरुले त्यस्ता अनियमितता गर्ने उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानको समस्या समाधान गर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन् ।