१६ साउन, काठमाडौं
झापाको विर्तामोडदेखि गरामनीसम्म चार किलाेमीटरकाे फोरलेन सडक निर्माण भएको छ ।
‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा विर्तामोड नगरपालिकाको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ को चार किलोमिटर सडक बनेको हो ।
विर्तामोडदेखि गरामनीसम्मको चारलेन सडक ३१ करोड १३ लाखको ठेक्कामा ललितपुरको श्री आशिष र प्रेरा जेभीले निर्माण गरेको डिभिजन सडक कार्यालय दमकका सूचना अधिकारी ईन्जिनियर अनुप साउदेनले बताए ।
विसं २०७५ असार २४ गते निर्माण व्यवसायी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । तर कोभिड–१९ को महामारीका कारण बेलैमा काम हुन नसक्दा निर्माणमा ढिलाई भएपछि डिभिजन सडक कार्यालयले तीनपटक म्याद थपेको थियो ।
जिल्लाकै पहिलो फोरलेन यो सडक गत चैत २५ गते निर्माण कम्पनीले सडक कार्यालयलाई हस्तान्तरण गरेको हो ।
दोस्रो खण्डमा गरामनीदेखि चन्द्रगढीस्थित लेखनाथ चोकसम्मको सडकलाई चारलेनमा निर्माण गर्ने कार्य शुरु भइसकेको छ ।