१५ साउन, काठमाडौं
काठमाडौंको ठमेलमा चिनियाँ नागरिकले अवैध मदिरा भट्टी सञ्चालन गरेको भेटिएको छ । प्रहरीले भट्टीमा छापा मारी ति चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी झिवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई अवैध मदिरा उत्पादन गरी विक्री वितरणको लागि तयार पारेको अवस्थामा पक्राउ गरेको हो ।
उक्त होटलबाट ४ वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र विक्रीको लागि तयार पारिएको मदिरा समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
झिवेईले ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिएर गत वैशाख १० गतेबाट होम स्वीट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी जुहुईले अवैध मदिरा भट्टी संचालन गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाले आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त भट्टीमा छापा मारेको थियो ।
पक्राउ परेका झिवेईलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय महाराजगंज पठाइएको महाशाखाले जनाएको छ ।