अन्यायमा परेकाे भन्दै महन्थ ठाकुर फेरी सर्वोच्च पुगे

१५ साउन, काठमाडौं
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता नपाएपछि नेता महन्थ ठाकुर फेरी सर्वोच्च अदालत पुगेका छन् ।

आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आफू अन्यायमा परेको भन्दै नेता ठाकुरले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । उनले आयोगको निर्णय खारेज गर्न माग गरेका छन् ।

ठाकुरले रिटको अन्तिम टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन् । साउन ८ गते कार्यकारिणी समितिका ५१ सदस्यलाई बोलाएर हेडकाउन्ट गरेपछि आयोगले जसपाको आधिकारीकता यादव पक्षलाई प्रदान गरेको छ ।

त्यसअघि पनि ठाकुरले हेडकाउन्ट रोक्न माग गर्दै सर्वोच्चमा रिट गरेका थिए । सर्वोच्चले अब दुवै रिट एकैपटक सुनुवाइ गर्ने भएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले ठाकुर पक्षले दायर गरेका दुवै रिट एकैपटक सुनुवाइ गर्ने आदेश दिएको हो ।

तत्कालीन राजपा र समाजवादी पार्टी बीच २०७७ बैशाख १० गते एकीकरण भइ असार २८ मा निर्वाचन आयोगमा नयाँ दल जसपा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here