चार पूर्वमाओवादी नेताको रिटमाथीको सुनुवाई स्थगित

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताले दायर गरेकाे रिटमाथीको सुनुवाई स्थगित भएको छ ।

निवेदक तर्फका कानुन व्यवसायीले आग्रह गरेपछि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद् पदमा पुनर्बहालीको मागसहित बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट बिहिबार हेर्न नभ्याइनेमा राखिएको थियो । आजको पेशी न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो ।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो ।

भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here