एमाले संस्थापन पक्षले दोस्रो अध्यक्षको प्रस्ताव नमान्ने संकेत : पोखरेल भन्छन्-‘विधानभन्दा फरक हुन सक्दैन’

१५ साउन, काठमाडौं

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्तावमा असहमती व्यक्त गरेका छन् ।

दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको महासचिव पोखरेलेको भनाई छ । उनले पार्टीको विधान अनुसार हुनुपर्ने भन्दै उक्त प्रस्ताव स्वीकार्न नसकिने संकेत गरेका हुन् ।

‘अधिकतम लचकता अपनाउने हो तर त्यो अधिकतम लचकता विधिसम्म ढंगबाट हुनुपर्छ, शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका प्रश्नको उत्तर दिंदै महासचिव पोखरेलले भने– एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ ।’

उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि बताए ।

‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ, उनले भने– ‘हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं । त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै पालना गर्नु प¥यो नि, सबैले ।’

महासचिव पोखरेलले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेका नेताहरुलाई शुक्रबारसम्म कोशिस गर्न भनेको बताउंदै महासचिव पोखरेलले नेपाल पक्षलाई धेरै कुर्नु उचित नहुने धारणा राखेका छन् ।  ‘आज बेलुकासम्म केही कुरा होलान्, उनले भने–त्यसपछि प्रतीषा गर्नु उचित हुँदैन भन्ने नै छ ।’

पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको समेत महासचिव पोखरेलले जानकारी दिए ।

पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल गर्न एमालेले भोली स्थायी कमिटिको बैठक समेत बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here