१५ साउन, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) का तीनजा लुम्बिनी प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरिदिएको हो । सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा रहेकाले सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ ।
जसपाको कार्यकारिणी समितिको निर्णयअनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले उनीहरुलाई पदमुक्त गर्न बिहिबार प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो । गत वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन तीन सांसद सरकारमा मन्त्री भएका थिए ।
जसपाले पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको र पटक पटक पार्टीको ह्विप उल्लंघन गरेको भन्दै कारवाही गरेको हो ।
सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएपछि उनलाई कारबाही नगरेको जसपाले जनाएको छ ।