१५ साउन, काठमाडौं
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग गोप्य सम्झौताहरु भएको भन्दै त्यसलाई सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपाध्यक्ष रावलले एमसिसीसँग गोप्य सम्झौता पनि भएको दाबी गरेका हुन् । ‘एमसीसीसँग भएको सम्झौता जुन प्रतिनीधिसभामा प्रस्तुत भएको छ, त्यो सँगसँगै अरु थुप्रै गोप्य सम्झौताहरु भएका छन्’ उनले भने ।
एमसिसीसँग सम्बन्धित सबै कागजातहरु प्रतिनिधिसभामा पेश नभएको पनि उनको दाबी छ । आफू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलमा रहँदा एमसिसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको भन्दै रावलले कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको बताए ।
‘एउटा सम्झौता मात्र पेश गरिएको छ । सम्झौता अनुमोदन नहुँदै तत्कालीन मन्त्रीबाट कार्यान्वयन सम्झौता जुन गरिएको छ, त्यसको प्रतिलिपि यहाँ पेश गरियोस्, सबै सदस्यले त्यसको अध्ययन गर्न पाउनुपर्छ, उनले भने– ‘त्यस सँगसँगै गरिएका अरु थुप्रै सम्झौताका प्रतिलिपिहरु छन्, त्यो सबै प्रतिनिधिसभाका सदस्यहरुले अध्ययन गर्न पाउनुपर्छ ।’
उनले समानताका आधारमा, पारस्परीक हितको आधारमा कुटनीतिक र अन्तराष्ट्रिय सम्बन्ध सञ्चालन गर्न चाहेको समेत उल्लेख गरे ।
‘हामी कुनैपनि देशसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं तर देश ठुलो हुन सक्छ, देश सानो हुन सक्दछ । तर हाम्रा सार्वभौमसत्ता कसैको भन्दा सानो हुन सक्दैन’ उनले भने ।