सोनापुर सिमेन्टको परिसरमा अक्सिजन प्लान्ट स्थापना

१५ साउन, दाङ ।

दाङको तुलसीपुरमा रहेको सोनापुर सिमेन्ट प्रालिले उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासस्थित उद्योग परिसरमा दैनिक चार सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना भएको छ ।

सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले अब एक महिनाभित्र अक्सिजन उत्पादन सुरु गरिने जानकारी दिए ।

हाल जिल्लामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै २ सय, दाङ अक्सिजन उद्योगले एक सय ५० गरेर झन्डै ८ सय सिलिण्डर अक्सिजन दैनिक उत्पादन गर्न सकिने क्षमता छ ।

तर तीमध्ये तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट स्थापना हुन बाँकी नै छ । यसैबीच उद्योगमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निरीक्षण गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरको क्रममा दाङमा अक्सिजन र सिलिन्डरको पनि अभाव भएको थियो । बाँकेबाट किनेर ल्याउनु पर्ने अक्सिजन प्राप्त नहुँदा बिरामीले समस्या भोगेका थिए ।

अब भविष्यमा त्यस्तो समस्या नपरोस् भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here