१५ साउन, महोत्तरी ।
जिल्लाको लोहरपट्टी नगरपालिकाको गाडी धनुषामा दुर्घटनाग्रस्त भएको छ । जसमा एकको मृत्यु भएको छ भने गाडीमा सवार पाँच जना गम्भीर घाइते छन् ।
शुक्रबार बिहान करिब ५ बजे महोत्तरीको बर्दिबासबाट जनकपुरतर्फ जाँदै गरेको ज–२०–०२–०००१ झ ००३५ नम्बरको स्कार्पियो गाडी लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा दुर्घटनामा परेको हो ।
तीब्र गतिका कारण गाडी डाइभर्सनबाट अनियन्त्रित भई पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दीपक यादवको मृत्यु भएको बताए ।
गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । यादव ग्राहन्ता समुदायिक वन बर्दिबासका अध्यक्ष थिए ।
दुर्घटनामा यादवकी श्रीमती रिता यादव, भाइ गहेन्द्र यादव, नवीन यादव, उनकी श्रीमती अम्बिका यादव, मठिहानी नगरपालिका वडा नम्बर २ बस्ने त्रिलोकी यादव घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ ।