कोरोनाको डेल्टा भेरियन्ट १३२ देशमा पुग्यो : डब्ल्यूएचओ

१४ साउन, काठमाडौं
विश्व स्वास्थ्य संगठन डब्लुएचओले १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको बताएको छ ।

डब्ल्यूएचओले जनाएअनुसार कोरोनाको अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको छ । कतिपय देशमा कोरोनाको चौथो चरणको महामारीसमेत सुरु भएको छ । विश्वभर संक्रमितको संख्या बढ्दै गएको छ ।

यही जुलाई १७ देखि २५ सम्म सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाबाट संक्रमित भएका थिए । डब्ल्यूएचओले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमित संख्यामा वृद्धि भएको जनाएको छ ।

पछिल्लो हप्ता दैनिक विश्वभर पाँच लाख ४० हजार संक्रमित भएका छन्। त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएका थिए । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाको संख्यामा पनि थोरै वृद्धि भएको छ ।

संक्रमितको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायत देशले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् ।

डब्ल्यूएचओका अनुसार विश्वभर १९ करोड ५२ लाख ६६ हजार बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ४१ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् । खोपको विकास भएयता हालसम्म ३ अर्ब ८२ करोड ९९ लाख ३५ हजार डोज कोरोना विरुद्धको खोप खपत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here