सरकार गुहार्दै उखु किसान : भदौ ५ सम्म भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी

१४ साउन, काठमाडौं
उखुको भुक्तानी नपाएपछि सरकारलाई गुहार्न काठमाडौं आइपुगेका किसानहरुले भदौ ५ गनेसम्मको अल्टिमेटम दिएका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरूले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्म नपाएको गुनासो गरेका छन् । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरूको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पुर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँचबुँदे सहमति भएपनि हालसम्म आफूहरूले सम्पूर्ण भुक्तानी नपाएको बताए । सरकार उदासीन भएकाले आफूहरू अन्यायमा परेको उनको भनाई छ ।

मिश्रले विगत तीन/चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे । अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको मिश्रले बताए।

उनले उखु किसानहरूले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि यसबारे मन्त्रालयले चासो नदिएको आरोप लगाए । उखु बेचेरै धेरैले आफ्नो परिवार र व्यवहार चलाउने गरेका भन्दै मिश्रले अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि गुनासो पोखे ।

सरकारबाट पटक–पटक आश्वासन पाएपनि अहिलेसम्म पैसा नपाएको भन्दै किसानहरू कोरोना महामारीको बाबजुद फेरि आन्दोलनमा उत्रने तयारीमा छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका किसान फेरि काठमाडौँ आएका हुन् । समयमै भुक्तानी नपाएपछि उखु उत्पादक किसानहरु पटकपटक आन्दोलन गर्न बाध्य छन् ।

पछिल्लो पटक उखु किसानहरु २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो । विसं २०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन ।

रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here