१४ साउन, काठमाडौं
सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडबीच चालु अधिवेशनमा विद्येयकहरु अघि बढाउन लगायतका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख सापकोटा र मन्त्री खाँडबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ ।
मन्त्री खाँडले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी सभामुखलाई गराएका छन् ।
सिन्धुपाल्चोकको जुरे पहिरोपीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।
यसवर्ष मनसुनको सुरुवातसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।