युवालाई कोरिया पठाउने काम नराेक्न संसदीय समितिको निर्देशन

१४ साउन, काठमाडौं
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका युवालाई चाँडो कोरिया पठाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बिहिबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भाषा परीक्षा उतीर्ण गरेका युवा डेड वर्षदेखि दक्षिण कोरिया जान नपाएकोप्रति चासो राख्दै यस्तो निर्देशन दिएको हो । सम्बन्धित मन्त्रालय, निकाय तथा पीडित पक्षसँग छलफल गरेपछि समितिले कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने निष्कर्ष निकालेको छ ।

समितिले छिटो र सरल माध्यमबाट पठाउन भनेको छ । समितिका सभापति रामनारायण विडारीले पीडित यसबारे तत्काल तदारुकताका साथ काम अघि बढाउनुपर्नेेमा जोड दिए ।

दक्षिण कोरिया नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टाइनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत् पठाउन आग्रह गरेपनि दोस्रो लहरको संक्रमणका कारण ढिलाई भइरहेको बताइएको छ ।

बैठकमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here