जमुनाह नाकामा स्वास्थ्य सतर्कता बढाइयो

१४ साउन, काठमाडौं
कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै सीमा नाकामा सतर्कता बढाइएको छ ।

नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ ।

भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका संक्रमित बढ्न थालेपछि जमुनाह नाका हुँदै स्वदेश भित्रिने नेपालीको सङ्ख्या दैनिक बढेको  छ ।

भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि विभिन्न पेशा र रोजगारी गरेर बसेका र त्यहाँका स्कूल तथा कलेजमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किरहेको जमुनाह प्रहरी चौकीले जनाएकाे छ ।

कोरोना लाग्ने डरले नेपाली धमाधम घर फर्किरहेका छन् । यसरी फर्किनेमा अधिकांश कर्णाली प्रदेशको कालीकोट, जुम्ला, सुर्खेतलगायत छन् । उनीहरु हिमाञ्चल, सिमला, लखनऊ, दिल्लीलगायत शहरबाट स्वदेश फर्किएका हुन् ।

यससँगै जोखिम बढेपछि जमुनाह नाकामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नाकामा अहिले सीमावर्ती शहर रुपैडिहामा किनमेलका लागि जाने र स्वदेश फर्किनेको भीड लाग्ने गरेको छ ।

भारतबाट पछिल्ला दिन जमुनाहनाका हुँदै पाँचसय बढी नेपाली स्वदेश फर्किरहेका इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here