१४ साउन, काठमाडौं
उखुको भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु उत्पादक किसान फेरि आन्दोलनमा उत्रिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु फेरी काठमाडौं आएका छन् ।
उद्योगीबाट २९ करोड बक्यौता रकम उठाइदिन सरकारसँग माग गर्दै सर्लाहीका उखु किसानहरु फेरि काठमाडौं आएका हुन् । सर्लाहीबाट पाँच जना उखु किसान काठमाडौंमा आएका छन् । रकम उठाइदिन सरकारले पटक पटक आश्वासन दिएपनि भुक्तानी भने नपाएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले गुनासो गरे ।
समितिका अनुसार इन्दिरा सुगर मिलबाट ३ करोड, लुम्बिनी सुगर मिलबाट ३ करोड, अन्नपूर्ण सुगर मिलबाट १२ करोड , महाकाली बाट साढे ८ करोड र श्रीराम सुगर मिलबाट ३ करोड रकम भुक्तानी भएको छैन । श्रीराम सुगर मिलबाट पाउनुपर्ने तीन करोड रुपैयाँ प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएपनि किसानले नपाएको सचिव रायले बताए ।
महाकालीले करिब दुई करोड रुपैंया अनुदान रकम पनि दिएको छैन । यस वर्ष महाकालीले करिब दुई महिना क्रसिङ गरेको थियो तर एक महिनाको मात्रै भुक्तानी गरेको समितिले जनाएको छ । विसं २०७४ कै पैसा नपाएको उखु किसानको गुनासो छ । समयमै भुक्तानी नपाएपछि उखु उत्पादक किसानहरु पटकपटक आन्दोलन गर्न बाध्य छन् ।
पछिल्लो पटक उखु किसानहरु २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो । विसं २०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन ।
रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भएको थियो ।